कास्कीमा नमूना पशुपक्षी अस्पताल सञ्चालन
पाेखरा | कात्तिक १३, २०८१
पोखरा: कास्कीको पोखरा महानगरपालिका–१२ माटेपानीमा रहेको नमूना पशुपक्षी अस्पतालले गत साउनयता नयाँ सुविधायुक्त भवनबाट सेवा सञ्चालन गरिरहेको छ । सँगै निर्माण सुरु गरिएको तनहुँको नमूना पशुपक्षी अस्पताल भवन भने निर्माण कम्पनीको ढिलासुस्तीका कारण अधुरै छ ।
दुवै अस्पतालमा प्रदेश सरकारको लगानी छ । यसअघि रहेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलाई सेवा सुविधा र पूर्वाधार विस्तार गरी नमूना पशुपक्षी अस्पताल बनाउन लागिएको हो ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलको पशुपक्षी विकास महाशाखाका वरिष्ठ पशु विकास अधिकृत डा शोभा शर्माले कास्कीको अस्पतालबाट पशुपक्षीको उपचारमास्तरीय सेवा दिन सुरु गरिएको जानकारी दिनुभयो ।
“कास्कीमा नयाँ भवनबाट नमूना अस्पताल सञ्चालनमा आइसकेको छ, केही जनशक्ति र उपकरण थप्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “तनहुँमा भने अस्पताल भवन निर्माणाधीन अवस्थामा छ, निर्माण कम्पनीको ढिलाइले समयमा भवन बन्न सकेन ।”
भवन निर्माणलाई पूर्णता दिएर चालु आवभित्रैमा उक्त अस्पताल सञ्चालनमा ल्याउने योजना रहेको डा शर्माले बताउनुभयो । समयमा काम नसकिएपछि ठेक्काको म्याद थप गरिएको उहाँको भनाइ छ । उहाँले प्रदेश सरकारसँग भएको सीमित स्रोतसाधनका बाबजुद कास्कीमा बनेको नमूना पशुपक्षी अस्पतालले किसानलाई प्रत्यक्ष लाभ मिलेको बताउनुभयो ।
उक्त अस्पतालका लागि थप प्राविधिक जनशक्ति र उपकरणको प्रबन्धका लागि मन्त्रालयबाट पहल भइरहेको उहाँले जानकारी दिनुभयो । अस्पतालले पशुपंक्षीमा लाग्ने रोगको निदान र उपचारका लागि आधुनिक पूर्वाधारसहितको सेवा दिइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दका प्रमुख शम्भुराज पाण्डेले बताउनुभयो । “पशुपक्षीको एक्सरे, भिडियो एक्सरे, शल्यक्रिया, दूध परीक्षणलगायत सेवा प्रदान गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “जनशक्ति व्यवस्थापनलाई अझ थुस्त बनाउनुपर्ने खाँचो छ ।”
नमूना अस्पताल बनेपछि पशुपक्षीमा देखिने जटिल प्रकृतिका रोगको निदान र उपचारका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको प्रमुख पाण्डेले बताउनुभयो ।
“अत्याधुनिक प्रविधि र उपकरण नहुँदा कुनै बेला अनुमानका भरमा पनि उपचार गर्नुपर्ने अवस्था थियो, अब पशुपक्षीको उपचार पद्दतिमा पनि गुणात्मक परिवर्तन ल्याउने गरी अस्पतालको पूर्वाधार तयार भएको छ”, उहाँले भन्नुभयो, “पशुपक्षीमा बेलाबेला फैलने गरेको महामारीजन्य रोगको उपचार, नियन्त्रण र रोकथामका लागि पनि यो अस्पतालबाट ठूलो टेवा पुग्छ ।” मन्त्रालयका अनुसार कास्कीमा बनेको अस्पतालको लागत रु पाँच करोड ५४ लाख ४८ हजार र तनहुँको रु पाँच करोड ५४ लाख ६५ हजार रहेको छ ।
कास्कीको अस्पतालबाट स्याङ्जा, लमजुङ, बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका किसान लाभान्वित भइरहेको मन्त्रालयले जनाएको छ । तनहुँमा बन्न लागेको उक्त अस्पतालबाट गोरखा, लमजुङ, नवलपुरलगायत क्षेत्रका किसानले लाभ पाउने डा शर्माले बताउनुभयो ।
प्रदेशका ११ वटै जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द सञ्चालनमा रहे पनि कास्की र तनुहँमा नमूना अस्पतालका रुपमा सञ्चालन गर्ने योजना प्रदेश सरकारले ल्याएको हो ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

